Tuesday, February 20, 2018

फलाइङ किस दिन्छु, त्यसैमा काम चलाउ


माहोल गरमागरम भयो, फेरी उनको फोनमा घण्टी बज्यो, बेबी डोल मे सोने दे.... । 

रातको ८ बज्नै आँटेको थियो, कार्यलयदेखि ढिलो निस्केकाले सहिदगेटसम्म पाइला लामालामा नै भए, कारण अँध्यारोको डर भन्दापनि गाडी नपाइएला भन्ने थियो । प्रायः समय ठेलमठेल यात्रु हुने प्रतिक्षलय एक्लै थियो, एकदमै सुनसान । केहि ट्याक्सी ड्राइभरहरु यात्रुको प्रतिक्षामा थिए, उनीहरुलाई देख्नासाथ अनायासै खल्तीमा हात गयो र लगतै निस्कियो पनि । आभाष भयो बस पर्खनुको विकल्प छैन । करिब १५ मिनेटपछि आयो एक माइक्रो, किर्तिपुरसम्म पुग्ने । अरु समय खलासी किर्तिपुरसम्मकै स्टेशन भट्याउँदै आउँथ्यो तर त्यो दिन अरु केहि बोलेको थिएन, केबल बोलेको थियो, बल्खुसम्म मात्रै है, बल्खुसम्म मात्रै ।


कुलेश्वरसम्म पुग्ने म हतारहतार चढिहालें, दायाबायाँ हेर्ने फुर्सत बसिसकेपछि मात्रै भयो । बसभरी एक बाहेक सबै पुरुष जातिका यात्रुमात्रै थिए, म थपिएपछि हामी दुई भयौं, स्त्री जातिका । ति युवती महिलासिटमा अझ भनौ मेरो छेवैमा बसेकी थिइन् । आँखाले एकैछिन घुरेर हे¥यो ति युवतीलाई । छोटाछोटा कपडा लगाएकी उनको सेतो तिघ्रा, बसको लाईटमा गज्जवसँग टल्किएको थियो । सायद आँखा पनि अरु अंगमा भन्दा पहिले त्यतै प¥यो । ती युवतीको अनुहार ओभर मेकअप र त्यसमाथी भर्खरै पलाउन थालेका डण्डिफोरले टल्किएका थिए ।

बसको माहोल पनि गज्जवकै थियो । चर्का स्वरमा ठमेल बजार गित बजिरहेको थियो, ड्राईभर त्यहि माहोलमा झुम्दै स्टेरिङ घुमाइरहेका थिए, खलासी गितकै तालमा ढोका ढकढक्याइरहेको थियो । त्यहि माहोलमा त्रिपुरेश्वर नपुग्दै ति युवती बडो जोरसँग चिच्याइन्, ओ दाई गित अलिक सानो स्वार पारौं त । उमेरमा भाई रहेका ति चालक झसँग हुँदै गितको भोलुम कम गरे । ति युवती कसैसँग फोनमा गफ गर्न थालिन्, सबैको ध्यान अटोमेटिक मोडमा भएझैं तिनै युवतीतिर तानियो ।

उताबाट को बोल्दैथियो, के भन्दैथियो हामी कसैले सुन्न सकेनौं तर उनी एकदमै साउतीको स्वरमा बोलिरहेकी थिईन् । बसले ठाउँठाउँ उफार्दा उनको बोली बुझिदैनथ्यो, त्यसबेला बसका यात्रु सबैका अनुहारमा थकथकको भाव झल्किन्थ्यो । उनी प्रायः बोलीमा अनि, अनि मात्रै भन्थिन्, तर पनि बडो उत्सुकता थपिन्थ्यो, अब के बोल्नेहुन् यिनले । गफको अन्त्यमा उनले बडो नाइनास्ती गर्दै भनिन्, ठिकैछ, फलाइङ किस दिन्छु, त्यसैमा काम चलाउ । 

सबैजना उत्सुकतापुर्वक गफ सुनिरहेको समयमा अचानक खलासीले ठुलै स्वरमा बनावटी खोकी निकाल्यो, आहम् आहम् । सबै एकअर्काका अनुहारमा हेर्दै मुस्कुराए । ति युवतीभन्दा पछाडी बस्ने पुरुषजातिकाले त कुनादेखि हात युवतीको ढाँड कन्याउन पु¥याइसकेछन् । अचानक एटम बम नै पड्किएजसरी युवती चिच्याईन्, मर्न नसकेको मुर्दार मर्लास् । त्यसपछि फोन काटेर पछाडी फर्किईन् र कराउन थालिन्, काट्दिन्छु सालेलाई बढी भइस् भने । त्यसबिचमा केहि शब्दकोषको अश्लिल कोटीमा भएका शब्दहरु पनि प्रयोगमा आए । खलासीले चर्को स्वरमा चेतावनी दियो, झगडा गर्नुछ भने दुबैलाई बाहिर निकाल्दिन्छु, जानुछ भने चुपचापसँग बसौं ।

खलासीको मुखदेखि शब्द झर्र्न पाएको छैन, ति युवती खलासीतिर खन्निईन्, तैँ निस्केर जा न मुर्दार, अझ बाहिर निकाल्छु भन्दोरहेछ । माहोल गरमागरम भयो, कतैकतै त गाडी साँच्चै रोकिएला झै भयो तर न कोहि निस्कए, न गाडी रोकियो । फेरी उनको फोनमा घण्टी बज्यो, बेबी डोल मे सोने दे.... । उनी फोन उठाएर केहि बोलिनन्, घुक्क घुक्क रुन पो थालिन् । पछि त्यसको मात्रा बढ्दै गयो र उनको डाँको नै फुट्यो । त्यति होउन्जेल बस कालिमाटी पुगिसकेको थियो र ती युवती खलासीँलाई आँखा तर्दै ओर्लिईन् । 

जव उनी बसदेखि ओर्लिईन्, सबै यात्रुहरु हल्का भएजसरी लामो स्वास ताने । खलाँसीले मलाई हे¥यो, मैले पनि । जब हाम्रो नजर ठोकियो, न उसले हाँसो थाम्न सक्यो न मैले नै । हामीलाई हेरेर बसभरीका यात्रु हाँसे । कुलेश्वरको कलेज चोकमा ओर्लिएर जब म हिड्न सुरु गरें, मलाई ब्याजलर फष्ट एयर पढ्दाको घटना याद आयो । 
रत्नराज्य क्याम्पसमा गाउँदेखि पढ्न आएको विद्यार्थीलाई बिभिन्न पार्टीका बिद्यार्थी कार्यकर्ताले आफ्नो बनाउन पासो थापिरहेका हुन्छन् । फष्ट इयरमा पढेकाले म पनि साथी बनाउनकै लागि  पिकनिक गएको थिएँ । कुनै बिद्यार्थी सँगठनले आयोजना गरेकाले पिकनिक अवधिभर खासै झैझगडाको माहोल बनेन तर केही उरन्ठ्यौला बिद्यार्थीले कताकतादेखि मद्यपानको जोरजाम गर्न भ्याएछन्् । जब घर फर्कने समय भयो, हामी केहि साथी सिट नपाएर हुटमा बस्न गयौं । त्यहाँ पुग्दा अरुनै दुई जोडीले ठाउँ ओगटीसकेका रहेछन् तरपनि हामी मिलेरै बस्यौं । 
एक युवती बढो छोटो कपडा लगाएर ब्वाईफे्रन्डको काखमा सुतेकी थिईन् । गाडी घच्चघुच्च हुँदा मेरा समुहका एक केटासाथी ती युवतीको तिघ्रामा उछिट्टिन पुगेछन् । त्यसपछि ति युवती यति नराम्ररी चिच्यिाईन् कि, उनको चरित्रै अव आईन्दादेखि धरापमा प¥यो । जाँडले झुलिरहेका उनको व्वाईफ्रेन्ड अचानक हुटमाथी उभियो र तथानाम कराउन थाल्यो । हाम्रा समुहका साथी पनि जाँडकै तालमा थिए, ति युवतीले तिखो नग्राँले औंल्याईन् हाम्रै साथीलाई । बस गुडीरहेको अवस्थामा हुटमाथी नै हात हालाहाल भयो र केहि साथी त्यहाँदेखि तल समेत खसे । भाग्यवस तिनीहरुलाई सामान्य चोट बाहेक अरु केहि भएन ।

भर्खर घटेको र चार बर्षअघि घटेको घटनालाई तुलना गर्दै म डेरा पुगें । बुढापाकाले भन्थे, महाभारदेखि रामायणसम्मका युद्द स्त्रीकै कारण भएको पाइन्छ र अहिलेपनि जति झगडा र चर्काचर्की हुन्छ, स्त्रीकै कारण हुन्छ । यि दुई घटनाले मलाईपनि सोच्न बाध्य गरायो, के साँच्चै हामी स्त्रीजाती झगडा उत्पन्न गराउनकै लागि हौं त ?

- पुष्पा थपलिया
Share:

0 Comments:

Post a Comment