Tuesday, February 27, 2018

सोसल मिडिया बन्दैछ प्रोपाेगान्डा टुल

सामाजिक सञ्जालमा भेटिएकाे तस्विर ।
पत्रकारिता बिद्यार्थीको नजरमा सिरिया घटना
पुष्पा थपलिया

आजको युगलाई सबै डिजिटल युग भन्छन्, तसर्थ हामी डिजिटल युगमा छौं । कत्तिछिट्टै ढुङ्गे युगदेखि कम्प्युटरलाई समेतपछि पार्दै हामी डिजिटल युगमा आईपुगिसकेछौं । केहि बर्षअघिसम्म मोवाईल थिच्न काँप्ने हाम्रा औंलाहरु अहिले सपिङ गर्दा कुन एप्स प्रयोग गर्ने, कस्तो एप्समा के के सुविधा छन् सबै लेखाजोखा गर्नसक्ने भइसक्यौंं । हाम्री गाउँकी अशिक्षित आमा पनि पावरवाला चस्मा नाकको टुप्पोबाट माथी सार्दै फेसबुकमा अपलोड गरेको सेल्फी  र त्यसमा आएको लाईक गनेर दंग पर्न थालिसकिन् । त्यसैले यो युग डिजिटल युग हो भन्नेमा शंका नगरौं । खैर म डिजिटल युग, पत्रकारीता र सिरियामा भईरहेको युद्धको कुरा गर्दैछु ।
बम ब्लाष्टपछि सिरियन बच्चा र अभिभावक/Facebook
त्रिभुवन युर्निभसिटीको सेन्ट्रल डिपार्टमेन्ट अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्जममा पत्रकारीता पढ्दै बिभिन्न संञ्चारमाध्यममा काम गर्नेमा म मात्रै पर्दिन, धेरै साथीहरु छन् । अधिकांस शिक्षक त त्यहीँ पढेर त्यहाँ नै पढाउने पनि भईसक्नुभएको छ । आफु मिडियामा काम गर्ने भएकाले मेरा सोसल मिडियाका एकाउन्टहरुमा पनि मेरै क्षेत्रसँग रिलेटेड मानिसहरु मात्रै छन् । अझ भनौ १०० प्रतिशतमा ९५ प्रतिशत साथीहरु मिडिया फिल्डमै कार्यरत छन् । यी ९५ प्रतिशत मिडियामा कार्यरत साथीहरुमध्ये ९९ प्रतिशत साथीहरु केहि दिनदेखि सिरियामा भएको बमबर्षा र गोलावारीले हर्टब्रोकन फिल गरिरहेका छन्, धेरैले सेफ सिरिया भन्दै प्रे गरिरहेका छन्, धेरैको मुड एङ्री छ, केही पेन महशुस गर्दैछन् अनि धेरैको अनुभुती स्याड छ । जुकवर्गले पनि हामी सबैको अनुभुत गर्न पाउने अधिकारको सुनुवाई गर्दै एमोजी र फिलिङस्हरुलाई ठाउँ दिएको छ ।हामीलाई शिक्षकले प्लस टु पढ्दादेखि पढाए, पहिलो र दोस्रो विश्वयुद्धताका न्यु मिडियाको रुपमा रेडियो बज्न थालेको थियो र त्यहि समयमा बिभिन्न अफवाह फैलाउने, दुस्मनलाई हतोत्साहीत पार्ने लगायतको प्रयोजनका लागि रेडियोको प्रयोग अत्याधिक मात्रामा गरिएको थियो । जसलाई पत्रकारिताको भाषामा प्रोपाेगान्डा भनिन्छ ।
बालककाे उद्दार गर्दै
यो शब्द आफैमा नराम्रो शब्द होईन, पहिले धर्मगुरुहरुले धर्म प्रचारका लागि अपनाउने टुल पछि भ्रम प्रचार गर्ने शब्दका रुपमा आफै परिवर्तन भएको हो । अझै रमाईलो कुरो त के छ भने, दोस्रो विश्वयुद्धमा जर्मनीका तानाशाही एडोल्फ हिटलरले प्रोपाेगान्डाकै लागि रीच मिनिष्ट्री अफ पब्लिक इनलाईज्टमेन्ट एण्ड प्रोपाेगान्डा नामक मन्त्रालय नै खडा गरे । प्रोपाेगान्डा मन्त्रालयका पहिलो हेड जोसेफ गोविल्स थिए, जसलाई नाजी प्रोपाेगान्डा भनिने सम्मका तथ्य शिक्षकहरुको रसिलो लेक्चरमा सुन्न पाईन्छ ।  अहिले मास्टर्स लेवलमा आईपुग्दा पनि हामी यिनै पहिला युद्धहरुमा मिडिया नराम्रमी प्रयोग भएका कुराहरु पढिरहेका छौं । त्यहि प्रोपाेगान्डा नियन्त्रण गर्नका लागि विभिन्न विद्धानहरुले बिभिन्न सिद्धान्त प्रतिपादन गरे भनेर हामीले घोक्न पनि छाडेका छैनौं ।
बाच्ची उद्दार गर्दै सिरियली उद्दारकर्मी

यहाँसम्म आइपुग्दा हामी सिरियामा बर्षिएका बम गोलामा अड्किएका छौं । सामाजिक सञ्जालहरु सिरियाका पुर्वी घौटामा गए सातादेखि भएको हवाई आक्रमणमा परि घाईते भएका र मृतकका दर्दनाक फोटोहरुले भरिएका छन् । नेपालीहरु कसैको सानो दुःख पनि देख्न सक्दैनन् । उदाहणका लागि, कोही मानिसले म्यासेजमा, ‘यो सन्देश तपाईले हेरेपछि दश साथीलाई फर्वाड नगरे छिमेकीको आफन्तमा दुःखद घटना घट्नसक्छ, कृपया ढिलो नगरी फर्वाड गरिहाल्नुस् र छिमेकीको आफन्त बचाउनुस्’ जस्ता कुरा लेखेपनि दश मात्रै किन बीसै जनालाई हतार हतार फर्वाड गरेर छिमेकीको आफन्त बचाउने कार्यमा जुट्छौं । यस्ता इमोसनल नेपालीको फेसबुक र ट्वीटर वाल रगतले लदबदिएका बच्चाको फोटो, बमले टुक्राटुक्रा भएका मानिसको चिच्याहट, हवाई आक्रमण भईरहेका भिडियो, शक्तिशाली बमले उडेका भवनहरु देख्दा किन नरोउन्, किन दुखी नहाेउन् ।
त्यसैले उनीहरु तुरुन्तै माइतीघर मण्डलामा भेला भए, सेभ सिरियामात्रै लेखेनन् पम्प्लेटमा, प्रे सिरिया मात्रै लेखेनन् त्यहाँ, गो ब्याक अमेरिका, गो ब्याक रसिया, अमेरिकी सामाज्यवाद मुर्दावादसम्मका नारा गाउन भ्याए । कसैकसैले त रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै तोकेर इडीभीमा नाम नपारेको रिस पोखे । नाम तोकेरै मुर्दाबादका नारा लगाए । मानवअधिकारबादी संघसंस्थालाई केहि गर्न नसकेको, टुलुटुलु हेरिबसेको आरोप लगाउँदै लाचार रुपमा प्रस्तुत गरे, नेपाली बीर गोर्खाली हुन् भन्ने प्रमाणित गर्न कतै चुकेनन् माइतिघर मण्डलामा उनीहरु, आफ्नै देशले दश बर्ष झेलेको गृहयुद्धले निम्त्याएको समस्या सुल्झिन सकेको छैन, विश्वप्रेममा नेपाली यतिधेरै पोखिए कि झण्डै त्यो भेलले विश्व बगाएन ।
ति सबै कुरा फेरी सामाजिक सञ्जालमै पोखिन आए । साहित्यिक मनहरुले सयौं थान कविता फुराएर वाहवाही पाए, केहि बिद्धानहरुले स्टाटस लेखे, केहिले ट्विट गरे । सबैजना पोखिए रसिया र अमेरिका माथी । नेपालीमा उखानै छ, आफ्नो थैलो बन्द गर्नु अरुलाई दोष नलगाउनु । तर यहाँ असदलाई भगवान बनाए, अमेरिका र रसियालाई दुष्ट । तर दुई शक्ति राष्ट्रको युद्धमा पिसिए निर्दोष सिरियाली ।
सिरियाली राष्ट्रपति बसर अल असाद

प्रोपाेगान्डा पढेको बिद्यार्थी म । सिरियामा सन् २०११ देखि राष्ट्रपति बसर अल असादको राजिनामा माग गर्दै चर्चिएको द्वन्द्व अहिले अन्तराष्ट्रिय हस्तक्षेपका कारण यहाँसम्म आईपुगेको छ । यस ८ बर्षे अवधिमा सिरियामा तीन लाख बढी मानिसले ज्यान गुमाईसकेका छन् । गत सातादेखि सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म विविसीका अनुसार कम्तीमा सय बालबालीका जोडेर पाँच सय बढीको ज्यान गएको छ । अहिले भने पुटिनले पाँच घण्टाका लागि युद्ध रोक्ने बताएको पनि विविसीले लेखेको छ ।
पहिलो र दोस्रो विश्वयुद्धमा रेडियो प्रयोग भएजस्तै सिरिया युद्धमा सोसल मिडिया त टार्गेटमा परेनन् ? सिरियाको पूर्वी गोटामा भएको युद्धले सम्पुर्ण सिरियालाई एकठाउँमा मुछेर शक्ति राष्ट्रहरुले अन्य देशलाई पनि त्रासमा पार्ने प्रोपगान्डा त रचेका हैनन् ? त्यत्रो तीन लाख मानिस मर्दा चुपचाप बस्ने सोसल साइट र अन्य ठुला अन्तराष्ट्रिय मिडिया प्रोपाेगान्डाका रुपमा त प्रयोग भइरहेका छैनन् ? सिरियाकै राष्ट्रपतिले गराएको युद्धमा रसिया र अमेरिकालाई गाली किन ? पत्रकारिताको बिद्यार्थी भएकाले होला, हामी पछिका जेनेरेशनले डिजिटल मिडिया पढ्दा सिरिया युद्धमा प्रयोग भएको प्रोपाेगान्डा टुलबारे फेसबुक ट्वीटरलाई पढ्न नपरोस् ।

Share:

0 Comments:

Post a Comment