Wednesday, June 10, 2020

हरेक मौसम बसन्त ऋतु बनिरहोस्...

- भगवती गैरे

Writer
म जव १३ बर्षकी थिएँ, मेरा मातापिताले उनीहरुभन्दा धेरै टाढा पठाए । फेरी सोच्नुहोला, पढाइका लागि होस्टेलमा बस्न या, ममिबाबा काममा जान परेकाले केहि दिनका लागि आफन्तकोमा पठाए भनेर ।

सुरुमा त मलाई पनि त्यस्तै लागेको थियो । सोचेको थिएँ, दुई चार दिनका लागि मात्रै हो मातापिता छाडेको, मस्त घुमघाम गर्ने हो, अनि फेरी आफू जन्मेकै घर फर्कने हो ।

त्यसैले घर छाड्ने बेलामा पनि खुशी हुँदै निस्किएको थिएँ, धेरै पछि मात्रै थाहा भयो, म त निकै लामो दुरीसम्म पो पुगिसकेको रहेछु ।

अब त बुझ्नुभयो होला नि है ! मेरो बिहे भयो १३ बर्षकै उमेरमा भनेर । यदि अहिलेको जस्तो जमाना हुँदो हो त, हाम्रा मातापितालाई बाल बिबाहको आरोपमा मुद्दा लाग्थ्यो, तर त्यो समय आजको जस्तो कहाँ थियो र !

जिन्दगी पनि कस्तो कस्तो । बालखैमा सिउँदो रंगियो, अनि फेरी छिट्टै पखालियो पनि । हामीलाई आर्शिवाद दिदाँ, सदा सुहागन रहनु भनेर दिन्छन् । एक अर्थमा भन्ने हो भने त यो आर्शिवाद श्रीमान भन्दा आफू छिट्टो मर्न पाउँ भन्ने नै हो ।

तर के गर्नु, यो आर्शिवाद लामो समयसम्म टिकेन तर हिम्मत हारेको छैन । अहिले सिउँदो उजाडिएपनि अतित मेरो साथमा छ । जस्तोसुकै परिस्थिती आएपनि  झेल्न सक्ने साहस त्यहि अतितले नै दिएको हो मलाई । यो साहस कहिल्यै नडगमगाओस्, मेरा लागि अब यस्तै आर्शिवादको खाँचो छ ।

आशा अनि चाहना यहि छ कि, अहिलेको संसार मेरा लागि हरेक मौसममा बसन्त ऋतु नै बनिरहोस् ।


Share:

0 Comments:

Post a Comment